महेन्द्रनगर । कञ्चनपुरको खेलकुद क्षेत्रमा कर्णबहादुर कठायत परिचित नाम हो । ६३ वर्षीय कठायतले आफ्नो जीवनका महत्वपूर्ण चार दशकजसो समय खेलकुदमै बिताएका छन् । कभर्डहलको रेखदेखदेखि कार्यालय सरसफाइसम्मका काम गर्दै आएका उनी खेलकुद क्षेत्रमा ‘कठायत दाइ’का रूपमा चिनिन्छन् ।
जाजरकोटबाट दशकौँअघि बसाइँ सरेर कञ्चनपुरको महेन्द्रनगर आएका कठायत विसं २०४५ मा खेलकुद कार्यालयमा गार्डका रूपमा नियुक्त भएका थिए । तर, २०४८ सालमा खेलकुद संस्था खारेज भएपछि उनको जागिर गुम्यो ।
“विसं २०४५ मा गार्डका रूपमा खेलकुद कार्यालयमा भर्ना भएँ”, उनले भने, “२०४८ सालमा खेलकुद खारेज भयो । केही वर्षपछि जागिर पनि गयो । त्यो बेला मासिक १२ हजार रुपैयाँ तलब थियो ।”
जागिर गुमेपछि पनि खेलकुदसँग उनको सम्बन्ध टुटेन । कभर्डहल परिसरमै बस्ने व्यवस्था भएपछि उनले त्यहीँ बसेर वर्षौँदेखि खेलकुद समितिको काममा निरन्तर योगदान दिँदै आएका छन् । त्यही झोपडीमा उनका तीन छोराको जन्मसमेत भयो ।
“खेलकुद समितिले बस्नलाई कभर्डहल परिसरमै झोपडी बनाउन दियो । त्यही झोपडीमा तीन छोराको जन्म भयो”, कठायतले भने, “बिहान ४ः३० बजेदेखि बेलुका ८ बजेसम्म कभर्डहलमा ड्युटी गर्नुपर्छ । रातिको समयमा पनि रेखदेखका लागि निस्किन्छु ।”
उनका लागि कभर्डहल नै घर र खेलकुद सेवा नै जीवन बनेको छ । लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आए पनि आफ्नो जिम्मेवारीबाट पछि नहटेको उनी बताउँछन् ।
“मेरो घर भने पनि यही हो, सेवा पनि यही हो, सर्वस्व नै यही हो”, उनले भने, “सुन्नुपर्ने र देख्नुपर्ने निकायले नदेखे पनि मैले आफ्नो कर्म आजसम्म छाडेको छैन ।”
कार्यालय सरसफाइदेखि कभर्डहलको रेखदेख र अन्य आवश्यक काममा समेत सक्रिय कठायतले आफूलाई उचित सेवासुविधा दिन माग गर्दै खेलकुद समितिमा आउने हरेक नयाँ नेतृत्वसँग आग्रह गर्दै आएको बताए । तर, उनको माग अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।
सरकारले विभिन्न क्षेत्रका कर्मचारीका लागि न्यूनतम पारिश्रमिक तोके पनि आफूले वर्षौँदेखि पाँच हजार रुपैयाँभन्दा बढी तलब नपाएको उनको गुनासो छ । खेलकुद समितिको जग्गामा सञ्चालनमा रहेको चिया पसलबाट हुने आम्दानीले समेत उनको परिवारको गुजारा चलिरहेको छ ।
“अहिले मेरो तलब पाँच हजार रुपैयाँ छ । नाति–नातिनीको स्कुलको शुल्क मात्रै पाँच हजार पाँच सय रुपैयाँ छ”, उनले भने, “कार्यालय सहयोगीको काम गरेँ, तर सेवा सुविधा भने त्यसअनुसार भएन ।”
कठायतले वार्षिक पोशाक भत्ता भने पाउँदै आएका छन् । जिल्ला खेलकुद समितिको अध्यक्ष कृष्णदेव पन्त रहेका बेला विसं २०६४ मा उनको मासिक तलब पाँच हजार रुपैयाँ कायम गरिएको थियो । त्यसयता उनको तलब तथा सेवा सुविधामा कुनै वृद्धि भएको छैन ।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कठायत लामो समयदेखि खेलकुदमा कार्यरत पुराना कर्मचारी भएको बताए । उनका अनुसार कठायतले दशकौँदेखि खेलकुद क्षेत्रमा योगदान दिँदै आएका छन् ।
“उहाँले खेलकुदमा निकै दुःख गर्नुभयो । केही दशकअघि हजार रुपैयाँमा समेत काम गर्नुभयो”, भट्टले भने, “अहिले उमेर बढी भएकाले नयाँ नियुक्ति दिन मिलेन । न्यून आयस्रोत भएको समितिले थोरै भए पनि उहाँलाई तलब दिँदै आएको छ ।”
भट्टले जिल्ला खेलकुद समितिको आयस्रोत निकै न्यून भएकाले उपलब्ध स्रोतअनुसार मात्रै सेवासुविधा दिन सकिएको बताए ।