भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा भण्डारण गरिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा ठूलो परिमाणमा ग्यास सिलिन्डर भण्डारण गरिएको भेटिएपछि प्रशासनले ती सिलिन्डर नियन्त्रणमा लिएको हो।
ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा विभिन्न भोज तथा कार्यक्रम धेरै हुने भएकाले ग्यास आवश्यक पर्ने र त्यसैका लागि चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका थिए। स्थानीय प्रशासनको अनुरोधपछि आवश्यकताअनुसार उक्त ग्यास सर्वसाधारणलाई वितरण गरिएको हो।
यसैबीच, जिल्ला प्रहरीले ग्यासको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–२, इटाछेका ४१ वर्षीय राजेश कर्मचार्यलाई १४ वटा सगर ग्यास सिलिन्डरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सूर्यविनायक नगरपालिका–३, ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भएका साहले प्रतिसिलिन्डर २ हजार ८०० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत बरामद गरिएको छ।
ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अवैध रूपमा ग्यास भण्डारण गर्ने गतिविधिमाथि अनुगमनलाई थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।