काठमाडौं ।उपत्यकाको पूर्वोत्तर क्षेत्रमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसीका अवसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।
दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले भाद्र कृष्ण औँसीलाई कुशे औँसी भनिन्छ। धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।
गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थस्थलमा श्राद्ध तथा तर्पण गरेमा पितृले मुक्ति प्राप्त गर्ने कुरा धर्मशास्त्रमा उल्लेख छ।
कुशे औँसीका दिन गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न तथा पिण्डदान गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको हो। धार्मिक विश्वासअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने मान्यता छ।
बौद्ध धर्मगुरु ऐतमान लामाका अनुसार बौद्ध धर्मावलम्बीमा पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा छ। यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन भएको मानिने उहाँले बताउनुभयो।
भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा मेला लाग्ने भएकाले यसलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ। धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वरको समेत दर्शन गर्नुपर्ने विश्वास छ।
— रासस