तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा थप एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ ।
वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै विद्युत् सुविधा नपुगेका तथा नयाँ बस्तीमा लाइन विस्तार गरिएको हो । नयाँ घरधुरीमा सेवा पुगेपछि केन्द्रअन्तर्गत विद्युत् ग्राहकको सङ्ख्या ८२ हजार २४९ पुगेको छ ।
कार्यालयका अनुसार दमौलीअन्तर्गत २८ हजार ८२९, खैरेनीटार उपवितरण केन्द्रअन्तर्गत २७ हजार ४१७, डुम्रे शाखाअन्तर्गत १२ हजार १५६, आँबुखैरेनी शाखाअन्तर्गत पाँच हजार ९२०, थर्पु नोलाइटअन्तर्गत दुई हजार ६१५ र दुईपिप्ले नोलाइटअन्तर्गत पाँच हजार ३१२ ग्राहक रहेका छन् ।
तनहुँ वितरण केन्द्रले जिल्लाका १० वटै स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ । यसका अतिरिक्त कास्कीको रुपा गाउँपालिका–३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिका–१ देखि ५ सम्म तथा नवलपुरका बौदीकाली र बुलिङटार गाउँपालिकाका केही क्षेत्रमा समेत यही केन्द्रमार्फत विद्युत् सेवा प्रवाह हुँदै आएको छ ।
केन्द्रले ग्रामीण तथा दुर्गम क्षेत्रका घरधुरीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कामलाई निरन्तरता दिएको जनाएको छ । विद्युत् पहुँच विस्तारसँगै घरायसी प्रयोगका साथै कृषि, व्यवसाय तथा स्थानीय उत्पादनमूलक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले ८७ करोड ७६ लाख १३ हजार ७८७ युनिट विद्युत् बिक्री गरेको छ । विद्युत् बिक्रीबाट एक अर्ब एक करोड ११ लाख १२ हजार १२६ रुपैयाँ आम्दानी भएको इन्जिनियर आलेले जानकारी दिनुभयो ।
वितरण केन्द्रअन्तर्गत हाल छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार ३२८ किलोमिटर ०.४/०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर रहेका छन् ।
केन्द्रले ११/०.४ केभी लाइन विस्तार, मर्मत तथा सुदृढीकरण, आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, नयाँ मिटर जडान तथा मिटरसम्बन्धी गुनासो व्यवस्थापन गर्दै ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।