काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा पार्टीका नेताहरूले आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, प्रमुख सचेतक वासना थापा तथा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।
कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताबाट संकलन गरेको रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। उक्त सहयोग भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गरिनेछ।