मुस्ताङ -मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित ठिनी गाउँमा थकाली समुदायले परम्परागत रूपमा मनाउँदै आएको फालो पर्व आइतबारदेखि सुरु भएको छ। थकाली भाषामा भदौ महिनामा मनाइने यस पर्वलाई ‘फालो’ भनिन्छ।
थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ठिनी गाउँ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्र हो। स्थानीयका अनुसार थकाली राजाले शासन गरेको यस गाउँमा पुस्तौँदेखि फालो पर्व मनाउँदै आइएको छ।
फालो पर्वका अवसरमा ठिनीमा दुई दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिन्छ। पर्वको पूर्वसन्ध्यामा गाउँका लामाले प्रकृतिको विशेष पूजा गर्ने र त्यसपछि स्थानीयवासीले लामाबाट आशीर्वाद लिने परम्परा छ।
प्रकृति पूजाका लागि प्रस्थान गर्ने लामालाई स्थानीय महिलाले खादा तथा फूलमाला लगाएर सम्मानपूर्वक बिदाइ गर्ने चलन छ। यस वर्ष पनि स्थानीयवासी घोडामा सवार भएर लामासहितको टोलीलाई नमखुलेक क्षेत्रमा प्रकृति पूजाका लागि पठाएका छन्।
स्थानीय लामा श्यामप्रसाद थकालीका अनुसार फालो पर्वमा हिमाललाई साक्षात् भगवानका रूपमा मानेर पूजा गरिन्छ। गाउँमा अनिष्ट नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली राम्रो होस्, प्राकृतिक विपत्ति नआओस् तथा विश्वमा शान्ति कायम होस् भन्ने कामनासहित प्रकृति पूजा गरिने उनले बताए।
पछिल्लो समय प्राकृतिक विपद्का घटना बढिरहेको उल्लेख गर्दै थकालीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको घटनालाई स्मरण गर्दै आगामी दिनमा यस्ता विपत्ति नदोहोरिऊन् भन्ने कामनासमेत पूजाका क्रममा गरिने बताए।
प्रकृति पूजाका लागि गएको टोली दुई दिनपछि ठिनी फर्कनेछ। टोली गाउँ फर्किएपछि मात्र फालो पर्व औपचारिक रूपमा सुरु हुने स्थानीयको भनाइ छ।
पर्वका क्रममा याक नाच, जोगी नाच, तमाया नाच लगायतका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ। धार्मिक विधि, संस्कार र परम्पराअनुसार विभिन्न गतिविधि सञ्चालन गर्दै दुई दिनपछि पर्वको समापन गरिनेछ।