काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचालेर पुनः गिराउने सरकारको नीति नरहेको बताएका छन् । नियमन, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर सेयर बजारलाई व्यवस्थित बनाउने सरकारको नीति रहेको उनले बताए ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा वाग्लेले साना लगानीकर्ताको लगानी संरक्षणलाई प्राथमिकतामा राखेर नियामकीय सुधार अघि बढाइएको बताए ।
‘हामी दुई महिनाको लागि लोकरिझ्याइँको सेयर बजारलाई कृत्रिम ढंगले ह्वात्तै माथि उछालेर बम्प गरेर फेरि डम्प गर्नको लागि यो सरकार आएको होइन,’ उनले भने, ‘स्वच्छ र नियमनकारी खाकाभित्र बाँधेर आम लगानीकर्ता, अझ साना लगानीकर्ताको लगानीको रक्षा गर्दै अगाडि जाने हाम्रो नीति हो ।’
सेयर बजारसम्बन्धी सरकारले लिएको नीतिका कारण पछिल्लो चार महिनामा आफूले व्यापक आलोचना र गाली सहनुपरेको उनले बताए । लोकप्रिय निर्णयभन्दा मुलुकको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुधार गर्ने काममा आफू केन्द्रित रहेको उनको भनाइ थियो ।
‘चार महिना यहाँहरूले मलाई गाली गर्नुभएको छ । मैले त्यो सबैलाई विषसरह पचाएर देशको हितका लागि अगाडि बढेको छु,’ उनले भने ।
बजेटमा घोषणा गरिएका सेयर बजारसम्बन्धी सुधारका कार्यक्रम अबको एक सातापछि कार्यान्वयनमा जाने उनले दाबी गरे । नियामकीय निकायको नेतृत्व सक्षम व्यक्तिलाई दिइएको भन्दै उनले अब बोर्डका बैठकमार्फत सुधारका काम अघि बढ्ने बताए ।
वाग्लेले पछिल्ला वर्षमा कर्जा प्रवाह र त्यसको उपयोगको उचित विश्लेषण नगर्दा अर्थतन्त्र सही दिशामा अघि बढ्न नसकेको बताए । कोरोना महामारीपछि कर्जा प्रवाह कुन क्षेत्रमा भयो र त्यसको प्रतिफल कस्तो रह्यो भन्ने गम्भीर समीक्षा गरेर अर्थतन्त्रलाई दिगो बाटोमा लैजानु सरकारको दायित्व भएको उनको भनाइ थियो ।
उनले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल लगाउने नीति वर्तमान सरकारले ल्याएको नभई विगतकै सरकारका पालामा बनेको नीतिअनुसार कार्यान्वयन भइरहेको स्पष्ट पारे ।
मधेशमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउँदै वाग्लेले सानातिना विषयमा उदार हुने तर अवैध व्यापार र तस्करी नियन्त्रणमा कडाइ गर्ने नीति लिइएको बताए । प्रहरी तथा भन्सार प्रशासनलाई जनमैत्री बनाउँदै लैजान नागरिकको सुझावका आधारमा अघि बढ्ने उनको भनाइ थियो ।