काठमाडौँ । गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो ।
निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ ।
असार महिनाका तुलनामा गत साउनमा करिब नौ लाख सिलिण्डर ग्यास बढी बिक्री भएको उनले जानकारी दिए । एलपी ग्यासको आयात तथा बिक्री वितरण आगामी दिनमा पनि निरन्तर हुँदै जाने उल्लेख गर्दै निर्देशक उपाध्यायले आवश्यकताअनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरे ।