टोकियो। सन् २०२६ मा हुने २०औँ आइची–नागोया एसियाली खेलकुदका लागि मंगलबार टोकियोस्थित राष्ट्रिय रंगशालामा पहिलो दीप प्रज्वलन गरिएको छ। आगामी मशाल र्यालीका लागि आवश्यक तीन ज्वाला संकलनमध्ये यो पहिलो चरण हो।
समारोहमा आयोजक समितिका अध्यक्ष तथा आइचीका गभर्नर हिदेआकी ओमुरा, जापानी ओलम्पिक समितिकी अध्यक्ष सेइको हाशिमोतोसहितका अधिकारीहरु सहभागी थिए। जापानी धावक योशिहिदे किर्युले सन् १९५८ मा टोकियोमा आयोजित एसियाली खेलकुदमा प्रयोग भएको दीप पात्र (काल्ड्रन) बाट ज्वाला संकलन गरेका थिए।
दोस्रो ज्वाला बिहीबार हिरोशिमा र तेस्रो शनिबार नागोया किल्लाबाट संकलन गरिनेछ। तीनवटै ज्वाला एकीकृत गरी प्रतियोगिताको आधिकारिक मशाल तयार गरिनेछ।
तीनपटककी ओलम्पिक कुस्ती च्याम्पियन साओरी योशिदाले मशाल र्यालीको पहिलो संवाहकका रूपमा नेतृत्व गर्नेछिन्। मशाल आइचीका ४० नगरपालिका र नागोयाका १६ वार्डमा लैजाने योजना छ। त्यसमा करिब एक हजार संवाहक सहभागी हुने अपेक्षा गरिएको छ।
आइची–नागोया एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४, २०२६ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ४५ देश तथा क्षेत्रका खेलाडीले ४३ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।