काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै प्रवासी नेपालीलाई ढुक्क भएर स्वदेशमा लगानी गर्न आह्वान गरेका छन्।
चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै वाग्लेले सरकारले आर्थिक सुधारलाई तीव्रता दिइरहेको बताए।
सरकारले बजेटमार्फत २७ वटा नयाँ कानुन तर्जुमा तथा संशोधनको प्रक्रिया अघि बढाएको, सार्वजनिक संस्थान सुधार तथा पूर्वाधारमा निजी वित्त परिचालनका कार्यक्रम अघि सारेको उनले जानकारी दिए। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्तालगायतका क्षेत्रमा युवालाई आकर्षित गर्ने कार्यक्रमसमेत बजेटमा समेटिएको उनले बताए।
वैदेशिक लगानीका नीतिगत अवरोध हटाउँदै लगिएको उल्लेख गर्दै वाग्लेले ‘धितोपत्र बाँडफाँट तथा निष्कासन नियमावली’ संशोधन गरी एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरमा ८५ प्रतिशतसम्मको हिस्सा सुनिश्चित गरिएको बताए।
‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौँ,’ वाग्लेले भने।
उनले सूचना प्रविधि, पर्यटन, स्वच्छ ऊर्जा, व्यावसायिक कृषि र हरित पुनःऔद्योगिकीकरणमा प्रवासी नेपालीका लागि लगानीका अवसर रहेको बताए। रुग्ण उद्योगलाई सार्वजनिक–निजी साझेदारी तथा ‘अपरेसनल लिज’मार्फत सञ्चालन गर्ने तयारी रहेकाले त्यसमा डायस्पोराको पुँजी र अनुभव उपयोग गर्न सकिने उनको भनाइ छ।
स्वदेशी उत्पादन प्रवर्द्धन र आयात प्रतिस्थापनमा समेत लगानी गर्न आग्रह गर्दै वाग्लेले डायस्पोराको लगानीलाई सरकारले ‘सफ्ट पावर’ का रूपमा प्राथमिकता दिएको बताए।
सरकारले आर्थिक सुधारका लागि पाँचवर्षे मार्गचित्र अघि सारेको उल्लेख गर्दै उनले पहिलो वर्ष सुधारको आधार तयार गर्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने तथा अन्तिम दुई वर्ष सुधारको प्रतिफल जनतासम्म पुर्याउने लक्ष्य रहेको बताए।