सुनसरी — धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारको बजेट पारित गरेको छ। बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट स्वीकृत गरेको हो।
कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेटअनुसार नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयका लागि रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ।
बजेटका लागि आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख, प्रदेश सरकारको अनुदानबाट रु नौ करोड १६ लाख ४८ हजार तथा राजस्व बाँडफाँटबाट रु ३२ करोड ८८ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै सडक बोर्डबाट रु एक करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।
सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ रु ९९ करोड ५० लाख छुट्याइएको छ। यसअन्तर्गत खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि रु चार करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि रु एक करोड र सभागृह निर्माणका लागि रु दुई करोड विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रमा रु १२ करोड ४५ लाख तथा सशर्त अनुदानतर्फ रु नौ करोड ३३ लाख विनियोजन गरिएको छ। धरान अस्पताल सञ्चालनका लागि रु दुई करोड र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यका कार्यक्रमका लागि रु ५० लाख छुट्याइएको छ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा रु ४९ करोड ८६ लाख ८२ हजार विनियोजन गरिएको छ। सङ्घ तथा प्रदेश सरकारको सशर्त अनुदानसमेत समेटिएको उक्त बजेटबाट विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ। एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।
सामाजिक विकासका लागि आन्तरिक स्रोतबाट रु १० करोड विनियोजन गरिएको छ। यसमध्ये सुकुमवासी व्यवस्थापनमा रु ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोषमा रु २० लाख, सडक मानव व्यवस्थापन तथा बाँदर नियन्त्रणका लागि रु १० लाख र विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारीका लागि रु १० लाख छुट्याइएको छ। लैङ्गिक समानता तथा समावेशीकरणका कार्यक्रमका लागि रु एक करोड पाँच लाख विनियोजन गरिएको छ।
आर्थिक विकासतर्फ रु छ करोड ८० लाख विनियोजन गरिएकोमा संकटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्रै रु पाँच करोड छुट्याइएको छ। वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ९५ लाख ७५ हजार विनियोजन गरिएको छ भने विपद् व्यवस्थापन कोषका लागि रु दुई करोड राखिएको छ। कानुन तथा न्याय सम्पादनका लागि आन्तरिक स्रोतबाट रु २० लाख विनियोजन गरिएको छ।
यसैगरी, चतरा–कोशी नदीबाट धरानमा खानेपानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारी गर्न रु तीन करोड ११ लाख आन्तरिक स्रोतबाट विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले जानकारी दिए।