नागासाकी ।अमेरिकाले जापानको नागासाकीमा परमाणु बम खसालेको ८१ वर्ष पुगेका दिन आइतबार परमाणु निशस्त्रीकरणको आह्वान गरिएको छ। बढ्दो भू–राजनीतिक तनावबीच आयोजित स्मृति समारोहमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले तीन गैर–परमाणु सिद्धान्तबारे दिएको अभिव्यक्तिले भने जापानको भावी परमाणु नीतिमाथि प्रश्न उठाएको छ।
सन् १९४५ अगस्ट ९ मा स्थानीय समयअनुसार बिहान ११ः०२ बजे अमेरिकी बमवर्षक विमानले नागासाकीमा प्लुटोनियम बम खसालेको थियो। सोही समयको सम्झनामा समारोहमा एक मिनेट मौन धारण गरियो। हिरोशिमामा परमाणु बम खसालिएको तीन दिनपछि भएको उक्त आक्रमणमा सन् १९४५ को अन्त्यसम्म करिब ७४ हजार मानिसको मृत्यु भएको थियो। विकिरणको दीर्घकालीन असरबाट ठूलो संख्यामा मानिस प्रभावित भए।
स्मृति समारोहमा नागासाकीका मेयर शिरो सुजुकीले परमाणु हतियारलाई ‘पूर्ण दुष्टता’ भन्दै जापानले आफ्नो ऐतिहासिक जिम्मेवारीबाट पछि हट्न नहुने बताए। उनले संविधानमा उल्लेखित शान्तिको भावना र मुलुकको तीन गैर–परमाणु सिद्धान्त अक्षुण्ण राख्न सरकारसँग आग्रह गरे।
प्रधानमन्त्री ताकाइचीले जापानले तीन गैर–परमाणु सिद्धान्त पालना गरिरहेको बताइन्। तर यसअघिका प्रधानमन्त्रीहरूले ती सिद्धान्त भविष्यमा पनि कायम राख्ने स्पष्ट प्रतिबद्धता जनाउने गरेको सन्दर्भमा ताकाइचीको अभिव्यक्ति वर्तमान अवस्थामा मात्र सीमित रहेको भन्दै विपक्षी सांसदहरूले आलोचना गरेका छन्।
जापानले सन् १९७१ मा औपचारिक रूपमा अपनाएको तीन गैर–परमाणु सिद्धान्तअनुसार परमाणु हतियार राख्न, निर्माण गर्न वा जापानी भूमिमा भित्र्याउन पाइँदैन। यही सिद्धान्त दशकौंदेखि जापानको परमाणु नीतिको आधार रहँदै आएको छ।
तर ताकाइची प्रशासनले सुरक्षा रणनीति परिमार्जनका क्रममा जापानी भूमिमा परमाणु हतियार भित्र्याउन नपाउने व्यवस्थामाथि पुनरावलोकन गर्न सक्ने जापानी सञ्चारमाध्यमले जनाएका छन्। यसैबीच रक्षामन्त्री सिन्जिरो कोइजुमीले परमाणु नीतिबारे ट्याबु नराखी खुला बहस हुनुपर्ने धारणा राखेपछि जापानमा परमाणु नीतिलाई लिएर चिन्ता र बहस थप चुलिएको छ।