काठमाडौं। दोस्रो नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ४४ वटा नयाँ गाडी तथा मोडल सार्वजनिक हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा अगस्ट ११ देखि १६ सम्म हुने एक्स्पोमा ५५ वटा ब्रान्ड सहभागी हुँदैछन्। तर एक्स्पोको मुखैमा चीनतर्फबाट आउने गाडीहरू सीमा क्षेत्रमा अड्किँदा नाइमाले यातायात पूर्वाधार र भन्सार व्यवस्थापनमा सरकार थप सक्रिय हुनुपर्ने माग गरेको छ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले निजी क्षेत्र जति सक्रिय भए पनि भरपर्दो पूर्वाधार नहुँदा लगानी र प्रयास खेर जाने अवस्था रहेको बताइन्। तातोपानी र रसुवागढी नाकाको सडक तथा सीमा व्यवस्थापनका कारण केही ब्रान्डका गाडी चीन सीमामै रोकिएको उनले बताइन्। “निजी क्षेत्रले जति प्रयास गरे पनि पूर्वाधारको व्यवस्था भएन भने त्यो प्रयास खेर जान्छ,” उनले भनिन्।
एक्स्पोमा नयाँ गाडीका साथै विभिन्न सेग्मेन्टका विद्यमान मोडल पनि प्रदर्शन गरिनेछन्। चार्जिङ पूर्वाधारसम्बन्धी कम्पनी, बैंक तथा बीमा कम्पनीको समेत सहभागिता रहनेछ। ब्लु पेभिलियन हलमा हरेक दिन वैदेशिक प्रत्यक्ष लगानी, वित्तीय पहुँच, इथानोल ब्लेन्डिङ, रिसाइक्लिङ र युवा उद्यमशीलतासम्बन्धी ‘लर्निङ सेसन’ सञ्चालन गरिने वैद्यले बताइन्। नेपाल प्रहरी र ग्रान्डी अस्पतालसँगको सहकार्यमा दुर्घटनापछिको व्यवस्थापन र सुरक्षा प्रतिक्रियासम्बन्धी तालिम पनि सञ्चालन हुने उनले बताइन्।
वैद्यले नयाँ कर नीतिका कारण गाडीको मूल्य संरचनामा असर परेको बताउँदै नीतिगत स्थिरताको माग गरिन्। विशेषगरी सवारीको मूल्य करको अर्को स्ल्याबमा पुग्दा आयातकर्ता र ग्राहक दुवैलाई असर पर्ने उनले बताइन्। “नीति परिवर्तन गरेपछि कम्तीमा पाँच वर्ष स्थिरता दिनुपर्छ,” उनले भनिन्, “त्यसले निजी क्षेत्रलाई योजना बनाउन सहज हुन्छ।”
नाइमाले एक्स्पो गाडी बिक्रीको थलो मात्र नभई अटोमोबाइल क्षेत्र, लगानी, प्रविधि र नीतिसम्बन्धी छलफलको साझा मञ्चसमेत हुने जनाएको छ।