हेटौंडा । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना तान (लुम) फेरि सञ्चालनमा आएका छन् । उद्योगका पुराना मेसिन मर्मतसम्भार गरी शनिबार परीक्षण उत्पादन सुरु गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मत गरी परीक्षण उत्पादन थालिएको हो । लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
उद्योग पुनः सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयासअन्तर्गत अहिले परीक्षण उत्पादनको चरणमा पुगेको परियारले बताएका छन् । नेपाली सेनाका जर्नेलको नेतृत्वमा पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
लामो समय बन्द रहँदा उद्योगका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण बनेका थिए । पछिल्लो समय उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली मर्मत तथा मेसिन परीक्षणको काम अघि बढाइएको थियो । विद्युत् प्रणाली मर्मतको कामसमेत सम्पन्न भइसकेको जनाइएको छ ।
यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन सुरु गरी त्यसको परिणामका आधारमा दीर्घकालीन रूपमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारसमक्ष प्रस्तुत गरेको थियो । सरकारले चालु आर्थिक वर्षमै हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउँदै आएको थियो ।
सरकारले गत १८ असारमा हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको प्रक्रिया अघि बढेको हो । उद्योगमन्त्री गौरीकुमारी यादवले पनि रुग्ण उद्योगमध्ये हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने बताएकी थिइन् । कपडा उद्योगसँगै बुटवल धागो कारखाना र कपास खेतीलाई समेत अघि बढाउने सरकारको योजना छ ।
२०५७ सालदेखि बन्द
चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । तर, लामो समय सञ्चालनमा रहन नसकेपछि उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ ।
उद्योग पुनः सञ्चालनको प्रयास भने यसअघि पनि पटक–पटक हुँदै आएको थियो । २०७३ सालमा विस्तृत अध्ययनका लागि समिति गठन गरिएको थियो भने २०७५ सालमा उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको अध्ययन प्रतिवेदन तयार गरिएको थियो । उक्त अध्ययनले उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने र विभिन्न मोडालिटीबाट सञ्चालन गर्न सकिने सुझाव दिएको थियो ।
२०७५ सालमै नेपाली सेनालाई समेत सहभागी गराएर उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को बजेटमा हेटौंडा कपडा उद्योगलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो ।
परीक्षणपछि पूर्ण सञ्चालनको तयारी
परीक्षण उत्पादन सुरु हुनु उद्योग पुनः सञ्चालनको दिशामा महत्वपूर्ण कदम भए पनि दीर्घकालीन रूपमा उद्योगलाई प्रतिस्पर्धी र दिगो बनाउने चुनौती सरकारसामु छ ।
उद्योगका पुराना मेसिन तथा प्रविधि, उत्पादन लागत र निजी क्षेत्रका आधुनिक उद्योगसँगको प्रतिस्पर्धा मुख्य चुनौतीका रूपमा देखिएका छन् । पुरानो प्रविधिबाट उत्पादन गर्दा आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने र नयाँ प्रविधिमा ठूलो लगानी आवश्यक पर्ने उद्योगसम्बद्ध विज्ञहरूको धारणा छ ।
त्यस्तै, कपास र धागोलगायत कच्चा पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नु पनि उद्योगको दिगोपनाका लागि महत्वपूर्ण हुनेछ ।
प्रधानमन्त्री शाहका अनुसार हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन अघि बढाएपछि सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको उनले बताएका छन् ।
तान मर्मतपछि परीक्षण उत्पादन सुरु भएसँगै केही मात्रामा कपडा उत्पादनसमेत थालिएको प्रधानमन्त्री शाहको भनाइ छ । लामो समयदेखि बन्द रहेको उद्योगमा फेरि तान चल्न थालेसँगै हेटौंडा कपडा उद्योग पुनः सञ्चालन हुने अपेक्षा बलियो बनेको छ ।