काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक रहेको बताउँदै नेपाल राष्ट्र बैंकलाई समस्या व्यवस्थापन गर्ने मात्र होइन, समस्या समाधान गर्ने नियामकका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले निजी क्षेत्रले सहुलियतभन्दा स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गरे। चालु आर्थिक वर्षको बजेट आर्थिक सुधारको मार्गचित्र भएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।
उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग र रोजगारीसँग जोड्ने, पुँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध सुदृढ बनाउने तथा डिजिटल वित्त, फिनटेक र स्टार्टअप वित्तपोषणलाई सहज बनाउन राष्ट्र बैंकले नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए।
उनले भने, “हामी समस्या व्यवस्थापन गर्ने नियामक मात्रै हौँ कि समस्या समाधान गर्ने नियामक पनि हौँ ? हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ ? यसमा गम्भीर आत्मसमीक्षा आवश्यक छ।”
अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सहयात्रीका रूपमा अघि बढ्न आग्रह गर्दै छलफलबाट आएका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने जानकारी दिए।