काठमाडौं । काठमाडौं ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका अधिकृतलाई गरेको दुर्व्यवहारको घटनालाई सेनाले गम्भीरतापूर्वक लिएको छ ।
सांसद पाण्डेले सेनाका जवानलाई हप्काएका थिए । केहीदिन अघि गोकर्णेश्वरमा सांसदले पाण्डेले हप्कीदप्की गरेको विषयलाई सेनाले गम्भीरतापूर्वक लिएको हो ।
सांसद पाण्डेको उक्त हर्कतप्रति सेनाको असन्तुष्टि प्रधानमन्त्री वालेन्द्र शाह बालेनसम्म पुगेको पनि स्रोतहरूले उल्लेख गरेका छन् । स्रोतका अनुसार सेनापति अशोकराज सिग्देलले नै यो विषयलाई प्रधानमन्त्री बालेनसम्म पुर्याएका हुन् ।
सेनापति सिग्देलले मंगलबार प्रधानमन्त्री बालेनलाई भेटेर उक्त विषयमा असन्तुष्टि जनाएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार गोकर्णको कोरिडोर विस्तारका क्रममा सांसद पाण्डेले सैनिक अधिकृतलाई हप्कीदप्की गरेको विषयमा सेनापतिले गम्भीरतापूर्वक असन्तुष्टि जनाएका छन् ।
सांसद पाण्डेले गोकर्णमा सैनिक अधिकृतलाई हप्काएको भिडियो यतिबेला भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा सांसद पाण्डेले अस्वाभाविक रूपमा सेनाका अधिकारीमाथि गाली गरेको देखिन्छ । नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र गोकर्णमा रहेको नेपाल ट्रस्टको जग्गामा रहेको छ ।
त्यहीँका सेनाका अधिकारीलाई सांसद पाण्डेले गाली गरेका हुन् । उक्त क्षेत्रमा कोरिडोर विस्तारका क्रममा सेना र सांसदबीच भनाभन भएको हो । खासमा पाण्डे उक्त कोरिडोर विस्तारका लागि एउटा पर्खाल भत्काउन प्रयास गरिरहेका थिए । उक्त पर्खाल भत्काउँदा सैनिक क्याम्प प्रभावित हुने भएपछि सेनाका अधिकारीले फौज बसेको बताएका छन् । तर, पाण्डेले भने फौज बसेर के भयो भन्दै हप्काएका थिए ।
यद्यपि, सेनाका अधिकारीले सांसद पाण्डेलाई पर्खाल नभत्काउन आग्रह गरेका थिए । त्यसलाई अटेर गर्दै सांसद पाण्डे हप्कीदप्कीमा उत्रिन्छन् । त्यही भिडियो भाइरल भएपछि सेना प्रमुखले पनि चासो राखेका हुन् । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसबारे सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताए ।