किभ। युक्रेनको राजधानी किभमा रुसले शनिबार गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
रुसी रक्षा मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार आफ्ना सशस्त्र बलले रातभर किभस्थित ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य–औद्योगिक प्रतिष्ठान र सैन्य रसद (लजिस्टिक) केन्द्रलाई लक्षित गरी आक्रमण गरेको हो। मन्त्रालयका अनुसार आक्रमणमा जमिन र समुद्रबाट प्रहार गर्न सकिने उच्च प्रविधिका हतियार तथा मानवरहित विमान (ड्रोन) प्रयोग गरिएको थियो।
रुसले विशेषगरी किभ इलेक्ट्रोनिक इन्डस्ट्री एसेम्बली एन्ड कम्पोनेन्ट्स प्रतिष्ठानलाई निशाना बनाएको दाबी गरेको छ। उक्त उद्योगमा युक्रेनको नेप्चुन–एमडी गाइडेड मिसाइल, एफपी–७ अपरेसनल–ट्याक्टिकल मिसाइल तथा ग्रोम–२ मिसाइल प्रणालीका लागि आवश्यक विद्युतीय उपकरण र पाटपुर्जा उत्पादन हुँदै आएको जनाइएको छ।
युक्रेनी अधिकारीहरूले आक्रमणबाट भएको मानवीय क्षतिको पुष्टि गरेका छन्। किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यको घटनास्थल तथा नजिकका स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ।
रुसले पछिल्ला समय युक्रेनका सैन्य तथा औद्योगिक पूर्वाधारलाई लक्षित गर्दै हवाई आक्रमण तीव्र बनाउँदै आएको छ।