भद्रपुर (झापा) । नेपाली छुर्पीको अन्तरराष्ट्रिय बजारमा माग बढ्दै जाँदा यसको निर्यातले नयाँ उचाइ हासिल गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मेची भन्सार कार्यालयमार्फत रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब २७ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार पछिल्ला पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढ्दो क्रममा छ। अन्तरराष्ट्रिय बजारमा विशेषगरी कुकुर र बिरालोका लागि प्राकृतिक चपाउने आहार (पेट फुड) का रूपमा नेपाली छुर्पीको माग उल्लेखनीय रूपमा बढेको उनले बताए।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने छुर्पी मुख्य रूपमा मेची भन्सार नाकामार्फत विदेश निर्यात हुँदै आएको छ। बढ्दो अन्तरराष्ट्रिय मागसँगै यसले पूर्वी पहाडी जिल्लाका दुग्ध किसान र स्थानीय उद्योगलाई समेत आर्थिक रूपमा टेवा पुर्याएको छ।