काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका छन्। बिहीबार राति करिब ११:३० बजे देवानगञ्ज पुगेका उनले स्थानीय सामाजिक अगुवा तथा सरोकारवालासँग छलफल गरेका छन्।
गृहमन्त्री गुरुङले देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उनले प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिका परिवारसँग भेटघाट गर्ने जनाइएको छ।
सुनसरीबाट सुरु भएको हिंसात्मक घटनाले कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा तनाव फैलिरहेका बेला गृहमन्त्रीको सक्रियता नदेखिएको भन्दै उनको आलोचना भइरहेको थियो। विशेषगरी देवानगञ्जको कप्तानगञ्जमा प्रहरीको गोलीबाट एक सर्वसाधारणको मृत्यु भएपछि उत्पन्न तनावका बीच स्थानीयले गृहमन्त्रीको प्रत्यक्ष उपस्थितिको माग गरेका थिए। त्यसअघि भने उनले आफ्नो निजी सचिव (पीए) लाई मात्र घटनास्थल पठाएका थिए।
सरकारले समयमै प्रभावकारी पहल गर्न नसक्दा हिंसात्मक गतिविधि अन्य जिल्लासम्म फैलिएको भन्दै विभिन्न पक्षबाट गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइएको छ। केहीले उनको राजीनामासमेत माग गर्दै आएका छन्।
कोशी प्रदेशको सुनसरीबाट सुरु भएको तनाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिन थालेपछि तथा आफ्नो भूमिकामाथि बढ्दो आलोचनाबीच गृहमन्त्री गुरुङ बिहीबार सुनसरी पुगेका हुन्।