पोखरा । पोखरा–६ बैदामस्थित फ्रेश जुस सेन्टरमा अखाद्य फलफूल प्रयोग गरेको भेटिएपछि कास्की जिल्ला प्रशासनले ५० हजार जरिवाना गरेको छ। उक्त सेन्टरको जुस सेवन गरेपछि उपभोक्ता बिरामी परेको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा मंगलबार अनुगमन गरिएको थियो ।
अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित थिए । अनुगमनका क्रममा सेन्टरमा पर्याप्त सरसफाइ नभएको र व्यवसायसम्बन्धी कुनै पनि कागजात उपलब्ध नभएको पाइएको छ।
अनुगमन टोलीले सेन्टरबाट प्रयोग गर्न नमिल्ने र बिग्रिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा लगायत करिब १२ केजी फलफूल (बजार मूल्य ३,४७०) नियन्त्रणमा लिई नष्ट गरेको छ। जरिवानाका साथै प्रशासनले जुस सेन्टरलाई पसल तथा सामग्रीको नियमित सरसफाइ गर्न, पेसा–व्यवसाय र नापतौलका सामग्री दर्ता, नवीकरण गर्न तथा अखाद्य रङ वा फ्लेभर प्रयोग नगर्न निर्देशन दिएको छ। साथै, अखाद्य फलफूल सुरक्षित रूपमा नष्ट गर्न, ग्राहकलाई विल उपलब्ध गराउन र खरिद–बिक्रीका विल अनुगमनका बखत पेस गर्न पनि कडा निर्देशन दिइएको छ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार जरिवाना गरिएको सहायक प्रजिअ बरालले बताए । आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने उनको भनाई छ ।