काठमाडौँ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले उचित वैकल्पिक व्यवस्थापनको माग गर्दै मङ्गलबार पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन्।
सरकारले कुनै विकल्प नदिई उठिवास लगाएको र बसोबास गरिरहेका होल्डिङ सेन्टरहरूबाट समेत हटाउने काम गरेको भन्दै पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन्।
आन्दोलनकारीहरूले सरकारले वास्तविक सुकुम्बासी र ‘हुकुम्बासी’बिच कुनै फरक नछुट्याई सबैलाई एउटै नजरले हेरेको आरोप लगाएका छन्। सरकारले गत वैशाख १२ र १३ गते काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएको थियो। त्यसबेला १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावका क्रममा गरेको बाचाविपरीत भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूलाई उठीवास लगाउने काम भइरहेको प्रदर्शनकारीहरूको आरोप छ।
अधिकारसहितको जग्गाको स्वामित्व र उचित वैकल्पिक व्यवस्थापनको ठोस ग्यारेन्टी नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।