झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय गति लिएको छ। एसियाली विकास बैंक (एडीबी)को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको यस आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले ९५ किलोमिटर लामो सडकलाई पाँच प्याकेजमा विभाजन गरेर निर्माण गरिरहेको छ। आयोजना काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर पश्चिमी खण्डमा विभाजित छ।
आयोजनाको पछिल्लो प्रगति विवरणअनुसार पहिलो प्याकेज (काँकडभिट्टा–सीतापुरी)मा ४७ प्रतिशत, दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ)मा ४२ प्रतिशत र तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर)मा १९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ। मौसम अनुकूल रहे दैनिक ४०० देखि ८०० मिटर सडक कालोपत्र गर्ने र साताभित्र करिब सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए।
उनका अनुसार निर्माण कम्पनीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना छ। वर्षायामका कारण केही चुनौती आए पनि निर्माणकार्यलाई निरन्तरता दिइएको उनले जानकारी दिए।
२०८० साल माघदेखि सुरु भएको काँकडभिट्टा–लौकही सडक आयोजना २०८३ साल माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल सडकको बीचभागमा तीन मिटर चौडाइको डिभाइडर निर्माणसँगै दुवैतर्फ सडक विस्तारको काम समानान्तर रूपमा भइरहेको आयोजनाले जनाएको छ।