काठमाडौं । सरकारले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रमा ड्रोनमार्फत निगरानी गर्ने र प्रमुख सीमा नाकामा फेस रिकोग्निसन प्रविधिसहितको सीसीटिभी प्रणाली जडान गर्ने तयारी गरेको छ ।
शुक्रवार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार यसका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन भइसकेको छ र कार्यान्वयन प्रक्रिया अघि बढिसकेको छ ।
गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी) को पूर्वाधार निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए । अधिकांश सीमा नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गर्दै उनले अब ती संरचनाको स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको जानकारी दिए ।
खुला सीमाका कारण सीमापार हुने आपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताए । संवेदनशील क्षेत्रमा ड्रोनमार्फत निगरानी र प्रमुख सीमा नाकामा फेस रिकोग्निसन प्रविधियुक्त सीसीटिभी प्रणाली जडानले सीमा निगरानीलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा र कार्यपरिस्थितिमा सुधार भए नागरिकको सुरक्षा पनि थप प्रभावकारी हुने उल्लेख गर्दै सीमा स्तम्भको सुरक्षा र संरक्षणलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।