झापा । वैदेशिक रोजगारीका क्रममा हुने ठगी, घरेलु हिंसा, श्रम स्वीकृतिसम्बन्धी जटिलता तथा उद्धारसम्बन्धी गुनासा लिएर बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रमा आउने सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।
बिर्तामोड नगरपालिकाका रोजगार संयोजक होमनाथ भट्टराईका अनुसार विशेषगरी कुवेतलगायत विभिन्न मुलुकमा रोजगारीका लागि गएका महिलाहरू घरेलु हिंसामा परेको, एजेन्टबाट ठगिएको तथा प्रवेशाज्ञाको वैधानिकतासम्बन्धी जानकारी लिन रोजगार सेवा केन्द्रमा पुग्ने गरेका छन्।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ यता मात्रै दुई हजारभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा लिएका छन्। साथै, प्रत्येक वर्ष करिब चार सयदेखि पाँच सय जनाले श्रम स्वीकृतिको सहजीकरणका लागि रोजगार सेवा केन्द्रको सेवा उपयोग गर्दै आएका छन्।
भट्टराईले पछिल्लो समय भिजिट भिसामा विदेश गएर काम गर्ने तथा सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको प्रभावमा परी प्रक्रिया अघि बढाउने प्रवृत्ति बढेकाले ठगीका घटना पनि बढ्दै गएको बताए। विशेषगरी युरोप पठाइदिने भन्दै गरिने भ्रामक प्रचारका कारण धेरै युवाहरू आर्थिक तथा कानुनी समस्यामा पर्ने गरेका छन्।
उनले विदेश रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्नेमा जोड दिए। “श्रम स्वीकृतिबिना विदेश जाँदा कानुनी जटिलता आउन सक्छ,” उनले भने, “यस्तो अवस्थामा श्रमिकले बिमा, सामाजिक सुरक्षा तथा वैदेशिक रोजगार कल्याणकारी कोषबाट उपलब्ध हुने विभिन्न सुविधा पनि प्राप्त गर्न सक्दैनन्।”
भट्टराईका अनुसार नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिका लागि आवेदन दर्ता, आवश्यक कागजात तयारी तथा अनलाइन प्रक्रियामा सहजीकरण गर्दै आएको छ। साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिक बिरामी पर्दा आवश्यक समन्वय गर्ने र श्रमिकका एकाघरका परिवारका सदस्यलाई घातक रोग लागेमा वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्राप्त गर्न पनि आवश्यक सहजीकरण गरिरहेको छ।