चितवन । बर्डफ्लुको प्रभावका कारण केही समय घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादनमा कमी आउनु र बजारमा माग बढ्नु यसको मुख्य कारण रहेको व्यवसायीहरूले बताएका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको बिक्री मूल्यका आधारमा बजार मूल्य निर्धारण गर्दै आएको छ। सङ्घका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य पनि प्रतिक्रेट ५० रुपैयाँले बढेर ४१५ रुपैयाँ निर्धारण गरिएको छ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डाको माग बढ्न थालेपछि मूल्यमा पनि सुधार देखिएको हो।
उनले दैनिक करिब ४५ लाख वटा अण्डा उत्पादन हुँदै आएकोमा बर्डफ्लुको प्रकोपका कारण उत्पादन घटेर करिब २८ लाख वटामा सीमित भएको जानकारी दिए।
जेठ महिनाको अन्त्यतिर प्रतिक्रेट अण्डाको मूल्य ५५० रुपैयाँ पुगेको भए पनि त्यसपछि घटेर ४५० रुपैयाँसम्म झरेको थियो। हाल उत्पादनमा कमी र बजारमा बढ्दो मागका कारण मूल्य पुनः उकालो लाग्न थालेको अध्यक्ष पोखरेलले बताए।
उनका अनुसार एक क्रेट (३० वटा) अण्डा उत्पादन गर्न औसत लागत ५७३ रुपैयाँ ६० पैसा पर्छ, अर्थात् प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा रहेको छ। मूल्य बढे पनि किसानहरूले अझै उत्पादन लागत बराबरको मूल्य पाउन नसकेको उनले बताए। निकट भविष्यमै लागतअनुसारको मूल्य प्राप्त हुने अपेक्षा किसानहरूले गरेका छन्।
अध्यक्ष पोखरेलले बर्डफ्लुका कारण कुखुरापालक किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रभावित किसानलाई राज्यले राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने माग गरे।