जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरी रु. १ करोड १४ लाख ९ हजार ५०१ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालका अनुसार उक्त अवधिमा १२ हजार ६०३ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो । कारबाहीबाट संकलित राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ५३८ वटा सवारीसाधनमाथि कारबाही गर्दा रु. २ करोड २१ लाख १० हजार ५०० राजस्व संकलन भएको थियो ।
यसैबीच, धनुषा जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ३५८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने २ हजार १९८ जना घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १ हजार २२१ वटा सवारी दुर्घटना हुँदा ८४ जनाले ज्यान गुमाएका थिए ।
पछिल्ला केही वर्षमा धनुषामा सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने घटेको देखिएको छ । सडकको खराब अवस्था, मानवीय लापरवाहीलगायतका कारण दुर्घटना बढेको प्रहरीको भनाइ छ ।
प्रहरी निरीक्षक दाहालले पछिल्ला वर्षहरूमा ट्राफिक सचेतना कार्यक्रम, नियमित चेकजाँच र नियम पालनामा गरिएको कडाइका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घट्दै गएको दाबी गरे ।