दाङको तुलसीपुरमा जंगली च्याउ खाएर बिरामी भएकी एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको उपचारका क्रममा मृत्यु भएको हो।
गत असार ३१ गते जंगलबाट ल्याइएको च्याउ खाएपछि दुई परिवारका सात जना बिरामी परेका थिए। बिरामीमध्ये दुई जनाको घरमै सामान्य उपचार गरिएको थियो भने पाँच जनालाई अस्पताल लगिएको थियो।
दीपालाई सुरुमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि घोराही लगिए पनि उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जंगली च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेकी ७५ वर्षीया दशरथी पुन, उनका छोरा ३८ वर्षीय डम्बरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, पाँच वर्षीय विपिन पुन, १२ वर्षीय विवेक पुन र सुमन बुढाथोकी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।