जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले ‘विदेह ओशो ध्यान केन्द्र’लाई लिजमा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न भएको छ । उक्त जग्गा आफूहरूले वर्षौंदेखि जोतभोग गर्दै आएको भन्दै स्थानीयले लिज सम्झौताको विरोध गरेका छन् ।
गुठी संस्थानले हनुमाननगरस्थित कित्ता नम्बर १ को ५ बिघा १० कठ्ठा १२ धुर जग्गा २०८२ जेठ ७ गतेदेखि लागू हुने गरी वार्षिक १० लाख १५ हजार रुपैयाँ भाडा बुझाउने सर्तमा २० वर्षका लागि धार्मिक क्रियाकलाप सञ्चालन गर्न ‘विदेह ओशो ध्यान केन्द्र’लाई लिजमा दिएको हो ।
स्थानीयका अनुसार यसअघि उक्त जग्गा हनुमान मन्दिरले उपभोग गर्दै आएको थियो । मन्दिरले गरिब तथा विपन्न परिवारलाई प्रतिव्यक्ति २ कठ्ठाका दरले खेतीपातीका लागि जग्गा उपलब्ध गराउँदै आएको र त्यसबापत उनीहरूले मन्दिरलाई कुत बुझाउने गरेका थिए । सोही जग्गा अर्कै संस्थालाई लिजमा दिएपछि आफ्नो जीविकोपार्जनको आधार खोसिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
स्थानीय कलावती साहले वर्षौंदेखि जोतभोग गर्दै आएको सहारा गुम्दा ठूलो समस्या परेको बताइन् । अर्का स्थानीय प्रितम राउत कुर्मीले अतिक्रमित अवस्थामा रहेको जग्गालाई स्थानीयले नै संरक्षण गरी खेतीयोग्य बनाएको दाबी गर्दै खेतीपातीबाट गुजारा चलाउनुका साथै मन्दिरलाई पनि सहयोग गर्दै आएको बताए । अहिले आफूहरूलाई विस्थापित गर्न खोजिएको भन्दै उनले आन्दोलन गर्ने चेतावनी दिए ।
हनुमाननगर हनुमान मन्दिर संरक्षण समितिका महासचिव रोशनकुमार राउतले मन्दिर र स्थानीयलाई जानकारी नै नदिई गुठी संस्थानले जग्गा लिजमा दिएको आरोप लगाए । उनका अनुसार मन्दिरको जीर्णोद्धार तथा दैनिक भोगराग सञ्चालनका लागि स्थानीयबाट उठ्ने कुत नै मुख्य स्रोत थियो । सरकारले अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउने अभियान चलाइरहेका बेला संरक्षणमा रहेको जग्गा लिजमा दिनु उचित नभएको उनको भनाइ छ ।
यता, विदेह ओशो ध्यान केन्द्रले भने कानुनी प्रक्रिया पूरा गरेरै जग्गा लिजमा लिएको जनाएको छ । केन्द्रका सचिव स्वामी विवेक सागरले विवाद गर्ने उद्देश्य नरहेको र नियमअनुसार नै जग्गा प्राप्त गरेको बताए । उनका अनुसार उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको योग तथा ध्यान केन्द्र निर्माण गर्नुका साथै मिथिलाका विद्वान–विदुषीका प्रतिमा र विभिन्न देवी–देउताका मन्दिर निर्माण गरी पर्यटकीय तथा धार्मिक स्थलका रूपमा विकास गर्ने योजना छ ।
स्थानीयका अनुसार मन्दिरलाई जग्गा खाली गर्न पत्र आएपछि मात्रै लिज सम्झौताबारे जानकारी भएको हो । गुठीको जग्गालाई लिएर उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले पहल गरिरहेको छ ।