काठमाडौँ । आज देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव बढ्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
निरन्तरको वर्षासँगै पहाडी तथा हिमाली क्षेत्रमा नदी–नालाको बहाव बढ्ने सम्भावना रहेकाले नदी किनार, तटीय क्षेत्र, डुबान तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
यस्तै, मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। विभागका अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागका मौसमविद् डेविट ढकालले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।