भक्तपुर । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनका लागि सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ।
महासङ्घको राष्ट्रिय समिति, सानोठिमी, भक्तपुरले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षकलाई लक्षित गर्दै अमर्यादित शब्द र भाव प्रयोग गरिएको आरोप लगाइएको छ। महासङ्घका अनुसार गीतले शिक्षक समुदाय तथा समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर आघात पुर्याएको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विवादित गीत तत्काल हटाउन र चलचित्रमा समावेश नगर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा गीतलाई यथावत् राखिए त्यसबाट उत्पन्न हुन सक्ने कुनै पनि असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिइएको छ।
शिक्षक समुदायबाट गीतप्रति व्यापक असन्तुष्टि व्यक्त भएपछि महासङ्घले पत्र संख्या २९–२०८३ अन्तर्गत साउन १, २०८३ मा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको जनाएको छ।