मुस्ताङ । जिल्लामा ४५८ जना किसान राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको कृषि जोन कार्यक्रममा सूचीकृत भएका छन्। व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रूपमा रहेको ‘कृषि जोन’ कार्यक्रम नेपालमा आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो।
च्याङ्ग्रा, स्याउ र आलुको उत्पादन वृद्धि गर्दै किसानको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले मुस्ताङमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। जिल्लामा स्याउ, आलु र च्याङ्ग्रा जोनअन्तर्गत विभिन्न कृषि फार्म, कृषक समूह तथा सहकारी संस्था सूचीकृत भएका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमका अनुसार स्याउ जोन कार्यक्रम आर्थिक वर्ष २०७५/०७६, च्याङ्ग्रा जोन २०७८/०७९ र आलु जोन २०८०/०८१ देखि कार्यान्वयनमा आएका हुन्।
स्याउ जोन कार्यक्रममा २५८ किसान, च्याङ्ग्रा जोनमा १३५ किसान र आलु जोनमा ९९ किसान सूचीकृत भएका छन्। च्याङ्ग्रा जोनअन्तर्गत सूचीकृत किसानमध्ये १२९ वटा कृषि फार्म र छ वटा कृषक समूह रहेका छन्। चालु आर्थिक वर्षमा थप ५७ जना किसान च्याङ्ग्रा जोन कार्यक्रममा आबद्ध भएका छन्।
कृषि जोन कार्यक्रममार्फत किसानलाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको छ। च्याङ्ग्रा पालक किसानलाई पूर्वाधार निर्माण तथा कृषि उपकरण खरिदमा ५० प्रतिशत सहुलियत प्रदान गरिएको छ। त्यस्तै, स्याउ जोनअन्तर्गत १६ हजार स्याउका बिरुवा वितरणमा ५० प्रतिशत अनुदान दिइएको छ भने आलु जोनअन्तर्गत २३ जना किसानलाई नौ हजार ८०० केजी आलुको बीउ वितरण गरिएको छ।
कृषि जोन कार्यक्रमले मुस्ताङका किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र स्थानीय उत्पादन वृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।