काठमाडौं– साउन महिनामा भगवान् पशुपतिनाथको पूजा–आराधना तथा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा विशेष तयारी गरिएको छ।
साउन महिना र सोमबारलाई भगवान् शिवको प्रिय महिना र बारका रूपमा धार्मिक मान्यता दिइने भएकाले यस अवधिमा लाखौँ भक्तजन पशुपतिनाथको दर्शन र पूजाआराधनाका लागि पुग्ने गर्छन्। भक्तजनको व्यवस्थापनलाई सहज बनाउन आवश्यक तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
विशेषगरी साउनका सोमबार बोलबम यात्रीको ठूलो भीड पशुपतिनाथ मन्दिरमा लाग्ने गर्दछ। धार्मिक मान्यताअनुसार भगवान् शिवलाई जल अर्पण गर्न विशेष महत्व रहेको र वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट ल्याइएको शुद्ध जल पशुपतिनाथमा चढाउँदा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ।
भक्तजनको भीडलाई व्यवस्थित बनाउन प्रत्येक साउने सोमबार पशुपतिनाथ क्षेत्रमा चारवटा दर्शन लाइनको व्यवस्था गरिने कोषले जनाएको छ। यसबाट तीर्थयात्रीलाई सहज रूपमा दर्शन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।