काठमाडौं। नेपालका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ५८ भन्दा बढी स्थानमा संक्रमण देखिएको छ ।
नियन्त्रण तथा रोकथामका क्रममा ५ लाख ६९ हजारभन्दा बढी कुखुरा तथा अन्य पंक्षी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले आपतकालीन जैविक सुरक्षा उपाय कडा बनाएको छ । ‘९ लाख ८९ हजार अण्डा र करिब १ लाख ९५ हजार किलो दाना (फिड) समेत नष्ट गरिएको छ,’ दाहालले भने । बर्ड फ्लु संक्रमण फैलिए पछि कुखुरा व्यवसायमा संलग्न किसानहरूलाई ठूलो आर्थिक क्षति पुर्याएको छ ।
बर्ड फ्लु वा एभियन इन्फ्लुएन्जा एक भाइरल रोग हो, जुन मुख्य रूपमा पंक्षीहरूमा लाग्ने गर्छ । यो रोग कुखुरा, हाँस, टर्की लगायत चराचुरुंगीमा छिटो फैलिन्छ । केही प्रकारका बर्ड फ्लु भाइरस मानिसमा पनि सर्ने सम्भावना रहन्छ । यद्यपि सामान्य अवस्थामा यसको जोखिम कम हुन्छ।
यसबाट तराई, पहाड र उपत्यका आसपासका व्यावसायिक कुखुरा पालन क्षेत्रहरू बढी प्रभावित भएका छन् । बर्ड फ्लु संक्रमण देखिएका कुखुरामा अचानक धेरै मर्नु, खाना र पानी नखानु, सास फेर्न गाह्रो हुनु, घाँटी र टाउको सुन्निनु, अण्डा उत्पादनमा तीव्र गिरावट, सुस्त देखिनु तथा हरियो वा सेतो दिसा जस्ता लक्षण देखिने विभागले जनाएको छ । यस्ता लक्षण देखिएमा तुरुन्त पशु सेवा कार्यालयलाई जानकारी दिन आग्रह गरिएको छ ।
संक्रमण मुख्य रूपमा संक्रमित पंक्षीको सम्पर्क, दिसा–पिसाब, दाना, पानी तथा उपकरणमार्फत फैलिने गर्छ। संक्रमित अण्डा वा कुखुराको ओसारपसार, जैविक सुरक्षा कमजोरी, जंगली चरासँग सम्पर्क र अस्वच्छ वातावरण पनि संक्रमण फैलिने प्रमुख कारणका रूपमा देखिएका छन् ।
प्रकोपले कुखुरा उद्योगमा गम्भीर असर पारेको छ । हजारौं किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । उत्पादन घट्दा बजारमा मूल्य अस्थिरता देखिन थालेको छ । संक्रमण नियन्त्रणका लागि संक्रमित फार्मका सम्पूर्ण पंक्षी नष्ट गर्ने अभ्यास अपनाइँदै आएको छ । जसले किसानहरूको लगानीमा ठूलो क्षति पुर्याएको छ।
नेपालमा यसअघि पनि सन् २०१९ र २०२१ मा बर्ड फ्लुको ठूलो प्रकोप देखिएको थियो । त्यो समयमा लाखौं कुखुरा नष्ट गरिनुका साथै अर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो ।
पशु सेवा विभागले संक्रमण नियन्त्रणका लागि आपतकालीन रणनीति अन्तर्गत संक्रमित क्षेत्रलाई क्वारेन्टिनमा राख्ने, कडा निसंक्रमण गर्ने, २४ घण्टा अनुगमन टोली परिचालन गर्ने र प्रयोगशाला परीक्षण तीव्र बनाउने कार्य गरिरहेको छ । साथै केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय बढाएर नियन्त्रण प्रयासलाई प्रभावकारी बनाएको जनाएको छ ।
पशु सेवा विभागले सर्वसाधारणलाई मरेका वा बिरामी कुखुरासँग सम्पर्क नगर्न, राम्रोसँग पकाएको मासु मात्र उपभोग गर्न र कुखुरा फार्ममा अनावश्यक प्रवेश नगर्न आग्रह गरेको छ । फार्म सञ्चालकहरूलाई जैविक सुरक्षा कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
बर्ड फ्लु अहिले नेपालका लागि गम्भीर पशु स्वास्थ्य संकटको रूपमा देखिएको छ । ११ जिल्लामा फैलिएको संक्रमण, लाखौं पंक्षी नष्ट, किसानको आर्थिक क्षति र बजार अस्थिरताले अवस्था संवेदनशील बनेको छ । विशेषज्ञहरूका अनुसार समयमै कडा नियन्त्रण, नियमित निगरानी र किसानको सहकार्य बिना यो रोग नियन्त्रण सम्भव छैन । सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।