काठमाडौँ – देशका विभिन्न भागमा आएको बाढी, पहिरो र सडक मर्मतको कार्यले गर्दा मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले मंगलबार बिहान ८:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सूचित गरेको छ।
पछिल्लो जानकारी अनुसार काठमाडौँ उपत्यका र बागमती प्रदेशका दुई मुख्य सडक खण्ड मर्मतका कारण एक महिनाका लागि पूर्ण रूपमा बन्द भएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो गएपछि सतुंगल–चित्लाङ सडक खण्ड मर्मत कार्यका लागि एक महिना बन्द हुने भएको छ।
यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी हुँदै जाने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड पनि मर्मत गर्नुपर्ने भएकाले एक महिनाका लागि पूर्ण रूपमा अवरुद्ध छ। उता, काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कुटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशका राजमार्गहरू पनि बाढी र पहिरोको चपेटामा परेका छन्। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, भोजपुर नगरपालिका–५ बोखिममा बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग भने वैकल्पिक बाटोको व्यवस्थासहित एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरो खस्दा कोशी राजमार्गमा एकतर्फी मात्र यातायात चलिरहेको छ।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ। यस सडक खण्डका तीन फरक स्थानमा पहिरो खसेकाले यातायात एकतर्फी मात्र सुचारु छ। अन्नपूर्ण गाउँपालिका–३ जलथले, रघुगंगा गाउँपालिका–१ उपल्लो बैसरी र रघुगंगा गाउँपालिका–३ तल्लो बैसरीमा खसेको पहिरोले गर्दा दुईतर्फी यातायात सञ्चालन हुन सकेको छैन।
बाटो अवरोध सम्बन्धी थप र ताजा सूचना लिनका लागि नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा हेर्न सर्वसाधारणलाई जानकारी गराएको छ। लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित निकायमा सम्पर्क गरी सडकको अवस्था यकिन गर्न प्रहरीले आग्रह गरेको छ।
