\भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवा खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् ।
किसानलाई व्यावसायिक अदुवा खेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताए । गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रूपमा अदुवा खेती गरिरहेको उनले जानकारी दिए ।
स्थानीय स्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवा खेतीबाट राम्रो उत्पादन लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनको भनाइ छ । “हामीले व्यावसायिक अदुवा खेतीमा जोड दिएका छौँ,” वडाध्यक्ष राईले भने, “खेती गर्न इच्छुक किसानलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गरेको छ । किसानलाई अनुदानमा अदुवाको बीउ वितरण गरेका छौँ ।”
आवश्यक अनुदान सहयोगसँगै कृषि ज्ञान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध भएसँगै अदुवा खेतीमा लाग्न सहजता भएको स्थानीय किसान मनोज राईले बताए । “अदुवा खेतीबाट अन्य बालीभन्दा राम्रो आम्दानी हुन थालेको छ,” उनले भने, “अदुवाबाट राम्रो आम्दानी हुने भएपछि खेती विस्तारमा जुटेका छौँ । यसले घर खर्च चलाउन सहज भएको छ ।”
अदुवा खेती परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने स्थानीय किसान कमल राईले बताए । अदुवालाई अन्यबालीको तुलनामा बाँदरले पनि कम क्षति पुर्याउने भएकाले किसानले खेती विस्तारमा जुटेको उनको भनाइ छ ।
किसानले व्यक्तिगत तथा सामूहिक रूपमा अदुवा खेती विस्तार गर्दै आएका आएको स्थानीय किसान देवकुमार राईले बताए । आफूले अहिले करिब तीन रोपनी क्षेत्रमा अदुवा विस्तार गरेको उनले जानकारी दिए ।
स्थानीय तहले अदुवा खेतीको विस्तारसँगै प्रशोधन, भण्डारण र बजारीकरणमा समेत जोड दिने योजना बनाएको छ । यसले खोक्सिक क्षेत्रलाई अदुवा उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने वडाले जनाएको छ ।