काठमाडौँ – सिरहामा बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय स्तरमा प्रदर्शन चर्किएको छ। निर्णय फिर्ता गर्न माग गर्दै धनगढीमाई नगरपालिका-९ जिरोमाइल चौकमा स्थानीय बासिन्दा, व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजामसहित विरोध प्रदर्शन गरेका छन्।
सरकारले २०८३ वैशाख २१ गते राजपत्रमार्फत सूचना जारी गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि त्यसको प्रतिवादमा स्थानीय स्तरमा असन्तोष बढेको हो।
आजको प्रदर्शनमा सहभागीहरूले भन्सार खारेजीको निर्णय पुनर्विचार गर्नुपर्ने माग अघि सारेका छन्। उनीहरूले यातायात अवरुद्ध हुने गरी चक्काजाम गर्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।
यसअघि पनि सो निर्णयविरुद्ध स्थानीयहरूले चरणबद्ध आन्दोलन सञ्चालन गरेका थिए। २०८३ वैशाख २५ देखि २७ गतेसम्म विभिन्न कार्यक्रममार्फत विरोध प्रदर्शन गरिएको थियो।