धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ की ३७ वर्षीया रिम्की गुरुङले तिम्ल्याह शिशुको जन्म दिएकी छिन् ।
गुरुङले जिल्ला अस्पताल धादिङमा मंगलबार तीन छोरीलाई जन्म दिएकी हुन्।
धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसुती सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो ।
नवजात शिशुहरुको अवस्था सामान्य रहेको र उनीहरुको तौल १८००, १५०० र २५०० ग्राम रहेको छ । अस्पतालले सयौं जनालाई प्रसुती सेवा दिईसकेको भएपनि शल्यक्रियाबाट एकैपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी बिक्रम बिकले जानकारी दिए ।
आमा र तीनै जना शिशुको अवस्था अहिले सामान्य रहेको छ । जटिल प्रकारको उक्त प्रसुती सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ ।
शल्यक्रिया गराउन अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माचार्य, डा.सबिन भन्डारी, स्वास्थ्यकर्मी लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा, एस्तर तामाङ र सरस्वती मल्ल लगायतको टिम खटिएको थियो ।