चितवन – पूर्वीचितवनको गड्यौलीमा चारवटा सवारीसाधन ठक्करखादा एकजना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्बर २ खानेपानी चोकमा आज बिहान करिब ९ बजे चारवटा सवारीसाधन ठक्कर खाएको प्रहरीले जनाएको छ । भण्डारादेखि लोथरतर्फ जाँदै गरेकोे एक बसले एक्कासी ब्रेक लगाउँदा सोही दिशातर्फ जाँदै गरेको ना ८ ख ४३५९ नम्बरको तेलको ट्याङ्कर, बा २१ च २२३८ नम्बरको स्कोरपियो र ना ४ ख ७९ ५० नम्बरको ट्रकले ब्रेक लगाई रोक्ने क्रममा सोहि दिशातर्फ जाँदै गरेको म.प्र. ०३–००२ ख ४३४१ नम्बरको डिब्बा ट्रकले ठक्कर दिएको हो ।
दुर्घटना परि स्कार्पियोमा सवार खैरहनी नगरपालिका वडा नम्बर १ निवासी अन्दाजी ५३ वर्षिय ज्ञानबहादुर विसुराल घाइते भएका छन् । निधार र हातमा चोट लागेको उनको भरतपुर स्थित नेसनल सिटी हस्पिटल उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनवटा सवारी साधनमा क्षति भएको छ । प्रहरीले चारवटै सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।