काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ बर्ष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आवको २२ भदौमा मुक्तिनाथमा लेक लागेर वेलगार्व, उदारखुर्द, कर्नाटक भारतका ७१ वर्षीय आनन्द माधवाराओ देशपाण्डेको मृत्यु भएको थियो ।
गत असोज २४ गते महालक्ष्मी नगरपालिका-४ इमाडोल ललितपुरका ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ-४ जोमसोममा लेक लागेर मृत्यु भएको थियो । यसैगरी कात्तिक ९ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ-२ मार्फामा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
यस्तै, कात्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ-३ स्थित एक होटेलमा, पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेक लागेर मृत्यु भएको थियो । यसैगरी, यही चैत १७ गते मेक्सिकोका ६७ वर्षीय फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका-१ टुकुचेस्थित पक्की पुल नजिक लेक लागेर मृत्यु भएको थियो भने चैत २० गते ठोरी गाउँपालिका-४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको मुक्तिनाथ मन्दिरमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।