विराटनगर– मानव अधिकार रक्षकहरूले राज्यलाई कानुन र नीतिनिर्माण गर्न, बजेटको व्यवस्था गर्न, स्पष्ट संरचना र समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्न माग गरेका छन् ।
दलित महिला सङ्घ (फेडो) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विभेदका घटनाहरू रहेसम्म मानवअधिकार हननका घटना हुने बताए ।
सो अवसरमा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन् ।
फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले असमानता र विभेद बढी भए समृद्धि र विकासको गति कमजोर हुने बताए। कार्यक्रममा कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देवी बाँस्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए।
फेडो मोरङका अध्यक्ष शर्मिला परियारले स्वागत गर्नुभएको कार्यक्रममा सञ्जालका पदाधिकारी सदस्यहरूको सहभागिता रहेको थियो ।