काठमाडौं । पर्सा जिल्ला अदालतले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका प्रतिवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वारेसमार्फत अदालतमा उपस्थित हुन अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
लामिछानेले अस्वस्थताका कारण तोकिएको तारेखमा स्वयं उपस्थित हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै वारेस नियुक्त गर्न अनुमति मागेका थिए । निवेदनसँगै उनले उपचारसम्बन्धी कागजात तथा अन्य अदालतहरूमा समेत आफूमाथि फौजदारी मुद्दा चलिरहेको भन्दै तारेख पर्चाका प्रतिलिपि पेश गरेका थिए ।
उक्त निवेदनमाथि प्रतिवादी पक्षका अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बहस गरेका थिए ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९ र ९५ मा भएको कानुनी व्यवस्थालाई आधार मान्दै विशेष परिस्थितिमा वारेस राख्न सकिने व्यवस्था रहेको उल्लेख गरेको छ ।
आदेशमा लामिछानेको स्वास्थ्य अवस्था तथा विभिन्न अदालतमा एकै समयमा तारेख पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक परे वारेसमार्फत अदालतमा उपस्थित गराउने शर्तसहित अनुमति दिइएको उल्लेख गरिएको छ ।