काठमाडौँ — प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ।
वर्षमा चार नवरात्र पर्छन्। यसमध्ये असोज र चैत्र शुक्ल पक्षका नवरात्र प्रचलनमा धेरै छैनन्। केही साधकले मात्र असाढ र पुस शुक्ल पक्षमा शक्ति स्वरूपा देवीको पूजा गर्ने गर्छन्।
असोज शुक्ल पक्षको नवरात्रको प्रतिपदाका दिन घटस्थापना गरेर जमरा राखिन्छ, त्यसैले यसलाई बडादसैँ भनिन्छ। बडादसैँमा दशमी तिथिमा मान्यजनबाट टीका र जमरा लगाउने परम्परा रहिआएको छ, जुन आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।
तर, चैते दसैँमा त्यस्तो परम्परा धेरै परिवारमा पाइँदैन। हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरी विधिपूर्वक अष्टमीका दिन बलि दिने चलन छ। चैते दसैँ विशेष रूपमा अष्टमी र नवमीमा मनाइन्छ। अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई रामनवमीका रूपमा मनाइन्छ, किनभने त्रेता युगमा यसै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्र श्रीरामको जन्म भएको धार्मिक विश्वास छ।
बडादसैँ जस्तै, चैते दसैँको पूजा–उपासनाको मुख्य उद्देश्य सुख–शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो। यस अवसरमा परिवारका सदस्यहरूबीच जमघट हुने गर्छ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायतका शक्तिपीठमा चैते दसैँमा विशेष पूजा हुने गर्छ।
उपत्यकाबाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रमा विशेष पूजा गरिन्छ।
धार्मिक विश्वासअनुसार, चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा–आराधना र दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास छ।