काठमाडौँ – काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथ जात्राका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। जमलस्थित तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य अन्तिम अवस्थामा पुगेको हो।
चैते दशैंदेखि सुरु हुने यस वर्षको जात्रालाई लक्षित गर्दै रथ निर्माण तथा व्यवस्थापनका कामहरू तीव्र रूपमा अघि बढाइएको छ। परम्पराअनुसार केलटोलस्थित मच्छिन्द्र बहालमा रहेको लोकेश्वरको मूर्तिलाई विभिन्न स्थान हुँदै जमल ल्याइ रथमा स्थापना गरेपछि औपचारिक रूपमा रथयात्रा प्रारम्भ हुन्छ।
जात्राको मार्ग केलटोल, इन्द्रचोक, बांगेमुढा, असन र कमलाक्षी हुँदै जमलसम्म निर्धारण गरिएको छ। त्यसपछि रथयात्रा क्रमशः विभिन्न स्थानमा अघि बढ्ने परम्परा रहेको छ।
कार्यक्रमअनुसार पहिलो दिन रथ जमलबाट असनसम्म लगिनेछ भने दोस्रो दिन असनदेखि हनुमानढोका क्षेत्रतर्फ पुर्याइनेछ। तेस्रो दिन रथलाई लगन क्षेत्रमा पुर्याउने कार्यक्रम तय गरिएको छ।
स्थानीय समुदाय तथा सम्बन्धित निकायको समन्वयमा परम्परागत सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।