काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका सबै महिला युगान्डाका नागरिक हुन्। ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा अभद्र व्यवहार तथा अवाञ्छित गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।
प्रहरीले काठमाडौँ महानगरपालिका–२६ अन्तर्गत फायरचोक आसपासबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। सो क्षेत्रमा पैदलयात्री र पर्यटकलाई असहज बनाउने, अनावश्यक रूपमा अवरोध गर्ने तथा अश्लील गतिविधिका नाममा मोलमोलाइ गर्ने क्रममा उनीहरू फेला परेको प्रहरीले उल्लेख गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिइएको छ।
ठमेल क्षेत्रमा सार्वजनिक शान्ति र सुरक्षालाई कायम राख्न तथा यस्ता गतिविधि नियन्त्रण गर्न नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।