काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभर पछिल्लो २४ घण्टामा ३० जिल्लामा ३६ वटा विपद्का घटना दर्ता भएका छन्।
चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका ती घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। सबैभन्दा बढी चट्याङका घटना देखिएका छन्, जहाँ ९ जिल्लामा भएका १० घटनामा १० जना घाइते भएका छन्।
त्यसैगरी ७ जिल्लामा भएका आगलागीका ७ घटनामा दुई जना घाइते भएका छन्। लेक लाग्ने (हाइपोथर्मिया/लेक) सम्बन्धी दुई घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। यसबाहेक अविरल वर्षा, पहिरो, हावाहुरी तथा जनावर आक्रमणका घटनाहरू पनि विभिन्न स्थानमा दर्ता भएका छन्।
यी विपद्का घटनाबाट ठूलो भौतिक तथा आर्थिक क्षति भएको छ। प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। साथै ३० वटा चौपायाको समेत क्षति भएको छ। उद्धार तथा राहत कार्यका लागि देशभर १७७ जना प्रहरी परिचालन गरिएको थियो।
समग्र तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि चैत ७ गतेसम्म देशभर ७ हजार १४० वटा विपद्का घटना भएका छन्। ती घटनामा ४७९ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन्। साथै १ हजार ८७० जना घाइते भएका छन्।
पछिल्लो एक वर्षको विवरण हेर्दा आगलागीका ३,४४३ घटनामा १०२ जनाको मृत्यु भएको छ। सर्पदंशका ५९६ घटनामा ९८ जनाले ज्यान गुमाएका छन् भने पहिरोका ६०१ घटनामा ७४ जनाको मृत्यु भएको छ। जनावर आक्रमणका ४९५ घटनामा ५५ जनाको मृत्यु भएको छ भने चट्याङका ३९३ घटनामा ४७ जनाको ज्यान गएको छ। यसैगरी बाढीका ३२० घटनामा ३८ जनाको मृत्यु भएको छ।
यस अवधिमा कुल १२ हजार ९९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन्।