काठमाडौं — हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिणतर्फ रहेको एउटा रूखमा बस्ने गुरुमापा नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने र खाने गर्थ्यो। त्यसपछि स्थानीयवासीहरूले विभिन्न उपाय अपनाएर त्यस राक्षसको अन्त्य गरे।
तर राक्षसको आत्मा फेरि सक्रिय भई बालबालिकालाई हानि पुर्याउन सक्ने डरका कारण प्रत्येक वर्ष यस दिन घोडे जात्रा आयोजना गरिन्छ। विश्वास गरिन्छ कि घोडाको टापले कुल्चाएर गुरुमापाको आत्मालाई दबाइन्छ।
यसै अवसरमा आज राति उक्त रूखको फेदमा गुरुमापाका लागि खानेकुरा पनि चढाउने परम्परा छ। यसो गर्दा वर्षभर बालबालिकालाई कुनै हानि नहुने विश्वास गरिएको छ।
आजकै दिन नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल प्रदर्शन, शारीरिक व्यायाम तथा युद्धकला प्रस्तुत गर्छ। घोडा दौडाएर घोडे जात्रा मनाउने चलन रहिआएको छ। यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।