नयाँ दिल्ली । नेपाली राजदूतावास, नयाँ दिल्लीद्वारा आयोजित “नेपाली फुड फेस्टिभल २०२६” भव्य रूपमा सम्पन्न भएको छ। नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक कूटनीति सुदृढीकरण तथा आर्थिक कूटनीतिलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको समृद्ध पाक–परम्परा, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा भारत सरकारका वरिष्ठ अधिकारीहरू, नयाँ दिल्लीस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, राजनीतिक व्यक्तित्वहरू, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरू, पर्यटन व्यवसायीहरू, ट्राभल एजेन्सीका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरू लगायत विभिन्न क्षेत्रका ३०० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा नेपालका लागि राजदूत डा. शंकर प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली खानाको सांस्कृतिक, सामाजिक तथा पर्यटनसम्बन्धी महत्त्वमाथि प्रकाश पारे । उनले नेपाली परिकारहरूको विविधता, मौलिकता तथा परम्परागत पकाउने विधिबारे जानकारी गराउँदै अतिथिहरूलाई विभिन्न परम्परागत नेपाली परिकारहरूको स्वाद लिन आमन्त्रण गरे ।
कार्यक्रमका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्र तथा समुदायहरूको प्रतिनिधित्व गर्ने परम्परागत परिकारहरू अतिथिहरूलाई परोसिएका थिए। साथै, नेपालको सांस्कृतिक सम्पदा र जीवित परम्परालाई झल्काउने आकर्षक सांस्कृतिक नृत्य प्रस्तुतीहरूले कार्यक्रमलाई थप जीवन्त बनाएका थिए, जसले सहभागीहरूलाई नेपालको सांस्कृतिक समृद्धिको प्रत्यक्ष अनुभूति गराएको थियो।
कार्यक्रमपछि उक्त फेस्टिभलले भारतीय पत्रपत्रिका तथा टेलिभिजन माध्यमहरूमा व्यापक स्थान पाएको राजदूतावासले जनाएको छ। यसले नेपाली खानपान, संस्कृति तथा पर्यटन सम्भावनाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समग्रमा, “नेपाली फुड फेस्टिभल २०२६” ले नेपालप्रति सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माण गर्न, नेपाल–भारतबीच जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पर्यटन प्रवर्द्धनसँगै भविष्यमा सहकार्यका अवसरहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको भारतस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।