काठमाडौँ। तनहुँको देवघाट गाउँपालिकामा सामाजिक परिचालक, सरसफाइ सुपरिवेक्षक तथा उत्प्रेरक संयोजकका रूपमा कार्यरत रहेका होमबहादुर भारतीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भारतीले एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी उक्त पदहरूमा नियुक्ति लिएको र त्यसै आधारमा राष्ट्रसेवकको हैसियतमा सेवा सुविधा लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको हो।
आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै सोही ऐन अनुसार कैद तथा जरिवाना सजायको मागसहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।