काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
गृहमन्त्री अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै सुरक्षा निकायका प्रमुखसहित काठमाडौँ र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन्। उनले सो क्रममा मतदातासँग दोहोरो कुराकानीसमेत गरे। निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रशंसा गर्दै बधाई दिएका थिए। केही मतदाताले अँगालो हालेर खुसी आदानप्रदान गरे। मन्त्री अर्यालले पनि मतदातासँग सौहार्दपूर्ण कुराकानी गर्दै मतदान स्थलहरूको समग्र अवस्थाबारे मतदान अधिकृत र सुरक्षा निकायबाट जानकारी लिएका छन्।
टोलीले ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौँको तारकेश्वरस्थित नागार्जुन मावि र पृथ्वीनारायण मावि तथा बालुवाटारको पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो।
अनुगमनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी थिए।
अनुगमनकै क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरेका छन् मतदान स्थल अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा भइरहेको बताएका छन्। उनले छिटफुट घटनाबाहेक देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।
अनुगमनपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ब्रिफिङ गरेका थिए। निर्वाचन सुरक्षाको सन्दर्भमा मन्त्री अर्यालले गृह मन्त्रालयबाट सबै निर्वाचन क्षेत्रको निरन्तर अनुगमन गरिरहेका छन्।