काठमाडौँ । खानी तथा भूगर्भ विभागले सुन खोजतलासका लागि अनुमति प्राप्त केही कम्पनीबाट स्वीकृत कार्ययोजना विपरीत गतिविधि भइरहेको गुनासो आएको जनाएको छ।
विभागले यस्ता कार्य तत्काल रोक्न र नियमअनुसार मात्रै काम गर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ।
विभागका अनुसार खोजतलास अनुमति पाएका कम्पनीहरूले निर्धारित सीमाभन्दा बाहिर ठूला उपकरण तथा मेसिनरी प्रयोग गर्दै खोलाको प्राकृतिक बहाव परिवर्तन गर्ने तथा जलस्रोत प्रदूषित गर्ने कार्य गरेको जानकारी प्राप्त भएको छ। यसप्रकारका गतिविधि वातावरणीय मापदण्ड विपरीत हुने उल्लेख गरिएको छ।
त्यसैगरी, परामर्शदाताको प्राविधिक क्षमताभन्दा फरक ढंगले विदेशी प्राविधिक संलग्न गराई अन्वेषण कार्य गरिएको विषयमा समेत विभागले ध्यानाकर्षण भएको जनाएको छ। खनिज अन्वेषण र उत्खननका क्रममा वातावरणीय सन्तुलनमा प्रतिकूल असर पार्ने कुनै पनि कार्य नगर्न विभागले स्पष्ट निर्देशन दिएको छ।
नियम विपरीत गतिविधि जारी राखिएमा अनुमति पत्र रद्दसम्मको कारबाही हुन सक्ने चेतावनी दिँदै विभागले स्थानीय प्रशासन र स्थानीय तहलाई समेत अवैध रूपमा भइरहेको कार्य तत्काल रोक्न र त्यसबारे विभागलाई जानकारी गराउन अनुरोध गरेको छ।